बेथानचोकका किसानलाई सुन्तला खेतिसम्बन्धि तालिम

  • केदार अधिकारी
  • चैत्र १६, २०८०
Post Thumbnail

बेथानचोक गाउँपालिका वडा नं. ४ का किसानहरुलाई सुन्तला खेती सम्बन्धि २ दिने तालिम प्रदान गरिएको छ ।
गाउँपालिकाको कृषि विकास शाखाको आयोजनामा ४० जना किसानहरुलाई उक्त तालिम दिइएको कृषि विकास शाखा प्रमुख मधुसुदन दाहालले जानकारी दिनुभयो । गाउँपालिकाको सुन्तला प्रवद्र्धन कार्यक्रम अन्र्तगत वडा नं. ४ को सभाहलमा दिइएको तालिममा कृषि विकास कार्यालय काभ्रेकी बाली संरक्षण अधिकृत रमा कार्की र बागबानी विकास केन्द्र पाँचखालका अधिकृत उमेश सापकोटाले सहजीकरण गर्नु भएको थियो ।

कार्यक्रमबारे प्रष्ट पार्दै बेथानचोक गाउँपालिका वडा नं. ४ का अध्यक्ष कृष्ण बहादुर लामाले बगैंचामा बोटहरु सुक्ने, मर्ने फलको गुणस्तरमा कमी आउने जस्ता समस्या किसानले भोग्नु नपरोस, सुन्तलाजात फलफूलको स्वस्थ बगैंचावाट राम्रो उत्पादन दिंदै आइरहेको बोटहरुले केही वर्ष पछि नै रोग ग्रस्त लक्षणहरु देखाई क्रमिक रुपले फल सानो हुने भै उत्पादन घट्ने र केही वर्ष पछि नै बगैंचा अनुत्पादित हुने र बोट मर्न सक्ने हुँदा किसानलाई समयमै जानकारी गराउन गाउँपालिकाले तालिमको आयोजना गरेको बताउनुभयो ।

बेथानचोक गाउँपालिका कृषि विकास शाखा प्रमुख मधुसुदन दाहालले बगैंचाको स्थापना भएको स्थानको भौगोलिक विशेषता, स्याहार–सम्भार, मल–जल, रोग–किरा आदि राम्रो ब्यवस्थापन गरे किसानले सुन्तला खेतिबाट राम्रो लाभ लिन सक्ने बताउनु भयो । उहाँले सुन्तलाजात फलफूल बगैंचामा देखा पर्ने यस प्रकारको समस्या नै सुन्तलाजात फलफूल बगैंचा मासिएर जाने कारण भएको हुँदा गाउँपालिकाले यस क्षेत्रमा किसान सचेतिकरण गर्दै आइरहेको बताउनु भयो । उहाँले सुन्तलाका लागि बेथानचोकको वडा नं. ४ र आसपासका क्षेत्र उर्वर भएका कारण किसानले सुन्तालाको खेतिमा मिहेनत गर्दा राम्रो लाभ लिन सक्ने बताउनुभयो । उहाँका अनुसार फल झर्ने समस्या न्यूनिकरणका लागि गाउँपालिकाको कृषि शाखा र वडाले किसानलाई किटनाशक औषधि र बिरुवाका लागि प्रोटिन ब्रेट वितरण गरिरहेको छ । यस्तै सुन्तला खेति बगैचा निर्माणका लागि आगामी असारमा ५ हजार बिरुवा किसानहरुलाई बाड्ने तय गरिएको पनि उहाँले जानकारी दिनुभयो । गाउँपालिकाले गत वर्ष पनि किसानहरुलाई प्रोटिन ब्रेट वितरण गरेको थियो ।

© 2024 All Rights Reserved | Dhading Press
Designed by: Goji Solution