भारत रुस सम्झौता

युक्रेनविरुद्धको लडाइँमा मारिएका भारतीय नागरिकका परिवारलाई रुसले नागरिकता दिने

भारत गुजरातका अश्विन भाइ मांगुकियाले बीबीसी हिन्दीसँग कुरा गर्दै भनेका छन्, ‘रुस सरकारले मेरो खातामा ४५ लाख रुपैयाँ पहिले नै जम्मा गरिदिएको छ ।
  • केदार अधिकारी
  • अषाढ २७, २०८१
युक्रेनविरुद्धको लडाइँमा मारिएका भारतीय नागरिकका परिवारलाई रुसले नागरिकता दिने

२७ असार, काठमाडौं । युक्रेनविरुद्धको लडाइँमा ज्यान गुमाएका भारतीय नागरिकका परिवारलाई रुस सरकारले राहत र नागरिकता दिने प्रक्रिया अघि बढाएको छ । बीबीसी हिन्दीका अनुसार एक परिवारले त रुसको नागरिकता लिन सहमति पनि जनाइसकेका छन् ।

भारत गुजरातका अश्विन भाइ मांगुकियाले बीबीसी हिन्दीसँग कुरा गर्दै भनेका छन्, ‘रुस सरकारले मेरो खातामा ४५ लाख रुपैयाँ पहिले नै जम्मा गरिदिएको छ । १.३ करोड रुपैयाँ राहतमध्ये बाँकी रकम पछि दिने भनेका छन् । यसै महिनाको १५ वा २० तारिखमा बाँकी रकम पाउने आश छ ।’

अश्विन भाई मांगुकियाका छोरा हेमिलको २१ फेब्रुअरीमा भएको मिसाइल आक्रमणमा मृत्यु भएको थियो । उनी २३ वर्षका थिए । उनलाई एक एजेण्टले झुक्याएर त्यहाँ पुर्‍याएका थिए । एजेण्टले उनलाई रुसी सेनामा हेल्परको नोकरी दिलाउने आश्वासन दिएका थिए । तर हेमिललाई अरु भारतीय नागरिकहरुलाई जस्तै युक्रेनविरुद्धको लडाइँको अग्रमोर्चामा खटाइएको थियो ।

हेमिलका बुवा अश्विनले कपडा बजारमा मजदुरी गर्दछन् । उनले बीबीसी हिन्दीसँग कुरा गर्दै भनेका छन्, ‘मैले कमाएको पैसा सबै खर्च भइहाल्छ । दोस्रो छोरोले साइबर सेक्युरिटी पढ्दै छ ।’

उनले रुसको नागरिकता स्वीकार गर्ने पनि बताएका छन् । किन ? भन्ने प्रश्नमा उनले भनेका छन्, ‘हाम्रो देशमा समस्या यो छ कि हामीले धेरै कमाउन सक्दैनौं । भ्रष्टाचारीको देश हो हाम्रो ।’

यसैगरी हैदरावादका मोहम्मद अफसानका दाजु मोहम्मद इमरानले पनि बीबीसी हिन्दीसँगको कुराकानीमा अफसानका परिवारलाई रुस सरकारले राहत र नागरिकता दिने भनेको छ । मोहम्मद इमरानले भनेका छन्, ‘कागजी प्रक्रियाका लागि रुस जानुपर्ने भएको छ । उनीहरुले अफसानकी श्रीमती र दुई बच्चालाई नागरिकता दिने भनेका छन् । अफसानका दुई वर्षको छोरा र एक वर्षकी छोरी छिन् ।’

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले गत सोमबार रुसको दुईदिने भ्रमणका लागि मस्को पुगेका थिए । त्यहाँ उनले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग भेटवार्ता गरेर रुसी सेनामा भर्ती भएका भारतीय नागरिकहरुको सुरक्षाको विषयमा छलफल गरेका थिए ।

छलफलको क्रममा पुटिनले रुसी सेनामा भर्ती भएका भारतीयहरुलाई फर्काउन सहमति जनाएको भारतीय मिडियाहरुले लेखेका थिए । अहिले फेरि युक्रेनविरुद्धको लडाइँमा मारिएका भारतीय नागरिकका परिवारलाई राहत र रुसको नागरिकता दिने प्रक्रिया सुरु भएको खबरले भारतमा चर्चा पाइरहेको छ ।

© 2024 All Rights Reserved | Dhading Press
Designed by: Goji Solution